भारत नेपालमा धार्मिक युद्ध गराउन चाहन्छ ।
केहि दिन यता नेपालमा धर्मनिरपेक्षताको विषयमा खुब बहस भईरहेको छ । देश तथा विदेशमा रहने कैयौं नेपालीहरूले यसलाई ठुलो बहस बनाएको छ । कसैले नेपाल धर्मनिरपेक्ष राष्ट्र संविधानमा नलेखिए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् भने कतिले हिन्दु राष्ट्र कुनै हालतमा संविधानमा लेखिनु पर्ने र त्यसको लागि जनमत सङ्ग्रह गर्नुपर्ने धारणा पनि राखेका छन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र होइन भनेर कसैले भन्छ भने त्यो व्यक्ति अथवा पार्टी ०६२/६३ को जनआन्दोलनको विरोधी हो भनि बुझ्न सकिन्छ । ०६२/६३ को ऎतिहासिक महान जनआन्दोलन र दशबर्षे जनयुद्धको उपलब्धि पछि तत्कालिन नेकपा (माओवादी) सहितको अन्तरिम संसदको शतप्रतिशत मतले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भनेर लेखिएको २०६३ को अन्तरिम संविधान घोषणा गरिएको थियो । नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्र हो । त्यसैले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । धर्मनिरपेक्ष लेखिएको अन्तरिम संविधानलाई शतप्रतिशतले पारित गर्ने पात्रहरू तिनै हुन । अहिले आएर कुनै कारण बिना तिनै पात्रहरूले धर्मनिरपेक्षलाई उल्ट्याउने काम गर्छ भने त्यो राजनीतिक महाबेइमानी ठहरिने छ ।
पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्बजनिक समारोह मै नेपालको नयाँ संविधानमा धर्मनिरपेक्ष नलेखिने उत्घोष गरेका छन् । केहि मानिसहरूले संविधानको प्रारम्भिक मस्यौदा माथि नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनेर सुझाव दिँदैमा मुलुककै दोश्रो ठुलो राजनीतिक दलका अध्यक्षले त्यस्तो अभिव्यक्ति दिन मिल्छ ? के केपी शर्मा ओली हिन्दुहरूका मात्रै नेता हुन् ? के नेकपा एमाले हिन्दुहरूको मात्रै राजनीतिक संस्था हो ?
१६ बुँदे सहमतिको आधारमा तयार भएको संविधानको मस्यौदा माथि कैयौं राजनीतिक दलहरू र जातीय संघसंस्थाहरूले बहिस्कार गर्दै संविधानको प्रारम्भिक मस्यौदामा कुनै सुझाव नदिएर आन्दोलन जुलुस् गरिरहेका छन् । धार्मिक, भाषिक र सांस्कृतिक रूपमा बिगत २५० बर्षदेखि उत्पीडन र विभेदमा पारिएका लाखौं नेपाली जनताहरू संविधानको प्रारम्भिक मस्यौदालाई बहिस्कार गरेर कुनै सुझाव पेश गरेका छैनन् । नेपालको स्थायी शान्तिलाई ध्यानमा राख्दै र सबैका धर्मलाई सम्मान गर्दै कैयौं हिन्दु धर्मप्रति आस्था राख्ने मानिसहरूले पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनि सुझाव पेश गरेको देखिएको छ । केहि एकाध अतिहिन्दुवादी मानिसहरूले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनि सुझाव दिएकै आधारमा मात्रै संविधानमा हिन्दु धर्म राज्य लेख्न मिल्ला ? त्यसो गरियो भने भोलि नेपालमा धार्मिक युद्ध हुने निश्चित छ ।
धन्य छ नेपालका बुद्ध धर्मावलम्बीहरूलाई । नेपाल बुद्धको देश । विश्व मै शान्तिको ज्योति फैलाउने बुद्ध जन्मेको देश । लाखौँ नेपालीहरूले बौद्ध अङ्गिकार गरेको देश । तर, तिनीहरूमा कत्तिपनि अहंमता छैन । किनभने, तिनीहरू नेपालमा स्थायी शान्ति चाहन्छन्। सबै मानिसहरूले अङ्गिकार गर्ने धर्मलाई सम्मान गर्छन् र समान ठान्छन् । त्यसैले, तिनीहरूले कहिल्यै पनि नेपाल "बौद्ध धर्मसापेक्ष राज्य" हुनुपर्छ भनेर वकालत गरेनन् । सबै बौद्ध धर्मावलम्बीहरूको मुखमा यहि शब्द, "छ नेपाल धर्मनिरपेक्ष" हुनुपर्छ ।
पछिल्लो समयमा भारतका एक मन्त्रीले नेपालका प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल हिन्दु धर्म राष्ट्र लेख्न दबाब दिएका छन् भन्ने विभिन्न मेडियाहरूमा पढ्न पाइयो । यो नेपाली जनता र राष्ट्र कै लागि दुर्भाग्य हो । नेपालमा के हुनु पर्छ के हुनुहुँदैन भन्ने भारतले भन्ने होइन । नेपाल सार्वभौमसम्पन्न राष्ट्र हो । नेपालको भबिष्य निर्धारण गर्ने अधिकार नेपाली जनता मै निहित हुनुपर्छ ।
भारतले नेपालमा धार्मिक युद्ध गराउन चाहन्छ भन्ने प्रष्ट छ । यसमा नेपाली जनताहरू सचेत हुनु अत्यावश्यक छ । ८० प्रतिशत भन्दा बढी हिन्दुहरू भएको भारतमा पहिला आफ्नै देशमा हिन्दु धर्म राष्ट्र घोषणा गर्न हिम्मत गरोस् भारतले । तर, भारतले त्यसो कदापी गर्न सक्दैन । झन्डै ६७ प्रतिशत मतका साथ भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेर २०१४ को चुनाव जितेको थियो । यो भारतको इतिहास मै सर्वाधिक बहुमत प्राप्त गरेको भनिएको छ । यतिबेला भारतका सत्तारुद पार्टीले चाहयो भने भारतलाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन सक्छ । तर, भारतले त्यस्तो गल्ति गर्दैन । करोडौ भारतीय नागरिकहरूले भारतीय जनता पार्टीलाई होइन कि नरेन्द्र मोदीलाई मत दिएका थिए भन्ने भाजपा र त्यसको सरकारले प्रष्ट बुझेका छन्।
भाजपा र त्यसको सरकारले भारतलाई हिन्दु सापेक्ष राष्ट्र बनाइए भारतमा रहेका १३ करोड ८० लाख मुस्लिम जनताले अर्को पाकिस्तान जन्माउन सक्छ भन्ने पनि तिनले प्रष्ट बुझेका छन् । आफ्नो देशमा भाजपा र त्यसको सरकारको पूर्ण बहुमत हुँदा पनि भारतलाई हिन्दु राष्ट्र बनाउन नसक्नेले नेपालमा हिन्दु राष्ट्र बनाउन भाजपाले लविङ्ग गर्नु त्यो गम्भीर राजनीतिक षडयन्त्र हो भन्ने नेपाली जनताहरूले प्रष्ट बुझ्नु जरुरी छ ।
मुस्लिम मिरर डट कम भन्ने वेबसाइटमा भेटिएको एउटा तथ्यले यो पुष्टि गरेको छ कि भारतमा बीफ (गाई गोरुको) मासु उत्पादन तथा निर्यात गर्ने सबैभन्दा ठुला ६ कम्पनीहरू मध्ये ४ वटा कम्पनीहरूका मालिकहरू सबै हिन्दु हुन् । जस्तै, अलकबीर एक्सपोर्ट प्रा.लि. मुम्बईका मालिकहरू शतिश (हिन्दु) र अतुल सब्रवाल (हिन्दु) हुन् । अरबियन एक्सपोर्ट प्रा.लि. मुम्बईका मालिक सुनिल कपूर (हिन्दु) हुन् । एम.के.आर. फ्रोजन फूड इण्डस्ट्री प्रा.लि. न्यू देल्हीका मालिक मदन अवेट (हिन्दु) हुन् भने पि.एम.एल. इण्डस्ट्री प्रा.लि. चण्डीगडका मालिक ए.एस. विन्द्रा (हिन्दु) हुन् ।
भारतले आफ्नै देशका कैयौं व्यवसायीहरूलाई गाई गोरूको फार्महाउस् खोल्न, आफ्नै देशमा गौहत्या गरि मासु उत्पादन गरेर देश विदेशमा निर्यात गर्न अनुमति दिने भारत सरकारले नेपालमा हिन्दु राज्यको पक्षमा वकालत र लविङ्ग गर्ने नैतिक अधिकार भारतसँग कदापी हुन सक्दैन । भारत मै गौहत्या गरेर प्याकिङ् गरि अलकबीर एक्सपोर्ट प्रा.लि. मुम्बई र अरबियन प्रा.लि. मुम्बईका कम्पनीहरूले निर्यात गरिएको गाईको मासु अरब राष्ट्रका सबै देशहरूका सबै सुपरमार्केटहरूमा उपलब्ध छन् ।
आम नेपाली मानिसहरूले बुझ्न र मनन् गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण कुरा के छ भने नेपालमा हिन्दु राज्य स्थापित गर्न फलाना देशको पूर्ण समर्थन छ भन्दै सिङ्गो राष्ट्र नेपालमा एकात्मक हिन्दुवाद लाद्न खोजियो भने भयङ्कर ठुलो दुर्घटना हुने कुरामा सबै नेपाली नागरिक सचेत हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । नेपाल विभिन्न जातका फूलहरूको साझा फूलबारी हो । त्यो फूलबारीमा हरेक जातका फूलहरू समान रूपले हुर्कन र सुगन्ध दिन पाउनु पर्छ ।
हुम सुनारीमगर
इमेल: humbsmgr@gmail.com